गोरखा, २८ वैशाख
गोरखाको विन्ध्यवासिनी मा वि नारेश्वरमा भव्य ‘उत्प्रेरणा जागरण कार्यक्रम’ सम्पन्न: शिक्षाको गुणस्तर सुधार्न अभिभावक र विद्यार्थीको सामूहिक प्रतिबद्धता
गोरखा नगरपालिका वडा नम्बर ३ को आयोजना र नारेश्वर सेवा समाजको समन्वयमा श्री विन्ध्यवासिनी माध्यमिक विद्यालय, नारेश्वरमा दुई दिने ‘संगीतमय शैक्षिक तथा व्यावहारिक उत्प्रेरणा जागरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।

वडाभित्रका चारवटा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा विभिन्न सामाजिक संघसंस्थाका करिब ७०० जनाको सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।
पहिलो दिन: “म” बाट परिवर्तनको सुरुवात
कार्यक्रमको पहिलो दिन वडाध्यक्ष चुलबहादुर कुँवरको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भयो। पहिलो दिन मुख्य गरी शिक्षक र विद्यार्थीहरूलाई लक्षित गरिएको थियो।

नेपालकै प्रख्यात शैक्षिक उत्प्रेरक तथा अभियन्ता हरिश ओलीले प्रशिक्षण दिँदै विद्यालयको प्रार्थना समय, पिटी व्यवस्थापनदेखि लिएर बालमैत्री शिक्षासम्मका व्यवहारिक कुराहरूमा जोड दिनुभयो।

“अरू बदलिन्छन् भन्नुभन्दा पहिले म बदलिनुपर्छ र मैले नै सुरुवात गर्नुपर्छ” भन्ने भावनाको विकास गराउँदै शिक्षक र विद्यार्थीहरूमा नयाँ उत्साह जगाइएको थियो। पहिलो दिनको कार्यक्रम शिक्षक ज्ञानहरी अर्यालले सञ्चालन गर्नुभएको थियो।

दोस्रो दिन: भावुक माहोल र सकारात्मक संकल्प
दोस्रो दिनको समापन सत्र नगर उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। यस दिनको विशेष आकर्षण विद्यार्थी र अभिभावकको संयुक्त सहभागिता थियो। विद्यार्थीहरूले आफ्ना अभिभावकलाई दुईवटा माला लगाएर डोर्याउँदै विद्यालयसम्म ल्याएका थिए।

प्रशिक्षक हरिश ओलीले संगीतका माध्यमबाट अभिभावकलाई विद्यालयप्रतिको अपनत्व बोध गराउनुभएको थियो। प्रशिक्षणका क्रममा विद्यार्थीहरूले आफ्ना अभिभावकको दुःख र संघर्षलाई सम्झिएर भावुक हुँदै अंगालो हालेर रोएका थिए।

अभिभावकहरूले पनि अबदेखि आफ्ना बालबालिकाको शिक्षा र विद्यालयको गतिविधिमा सक्रिय रहने र समय दिने प्रतिज्ञा गर्नुभयो। “सुरुको तितो भए पनि पछिको भविष्य मिठो हुन्छ” भन्ने मान्यतालाई आत्मसाथ गर्दै विद्यार्थीहरूले लगनशील भएर पढ्ने प्रण गरेका थिए।

नगर नेतृत्वको प्रतिबद्धता
कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्णबहादुर राना मगर र उपप्रमुख मसली माया थोकरले यस्ता उत्प्रेरणात्मक कार्यक्रमले समाज र शिक्षा क्षेत्रमा ठूलो प्रभाव पार्ने बताउनुभयो। उहाँहरूले अब यस्ता कार्यक्रम वडा स्तरमा मात्र नभई नगरपालिकाकै तहबाट सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस भएको धारणा राख्नुभयो।

सरोकारवालाको प्रतिक्रिया
विन्ध्यवासिनी माविका प्रधानाध्यापक गणेशराज सापकोटा र राष्ट्रिय मावि घलाङका प्रधानाध्यापक माधव तिवारीले शैक्षिक गुणस्तर सुधारका लागि यस्ता कार्यक्रम कोसेढुङ्गा सावित हुने अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रमको समापन सत्र शिक्षक जनकराज कोइरालाले सञ्चालन गर्नुभएको थियो।

वडा कार्यालय र वडाध्यक्ष चुलबहादुर कुँवरको यो उदाहरणीय कार्यको सहभागी सबैले प्रशंसा गरेका थिए भने नारेश्वर सेवा समाजका अध्यक्ष अर्जुन रायमाझीलाई प्रभावकारी समन्वयका लागि धन्यवाद ज्ञापन गरिएको थियो।

कार्यक्रमका मुख्य आकर्षणहरू:
- प्रशिक्षक: हरिश ओली (कालिका मानव ज्ञान मावि, बुटवल)
- सहभागिता: ५ वटा विद्यालयका ७०० बढी शिक्षक, विद्यार्थी र अभिभावक।
- मुख्य सन्देश: अनुशासित जीवन, नैतिक शिक्षा र विद्यालयप्रति अभिभावकको सकारात्मक सोच।
- विशेष क्षण: अभिभावक र विद्यार्थी बीचको भावनात्मक मिलन र सामूहिक प्रतिबद्धता।
